: एक छलफल
- पुष्पविक्रम मल्ल (क.सिंह)
सिद्धान्त बिनाको व्यवहार कानो र व्यवहार बिनाको सिद्धान्त
विचार लङ्गडो हुन्छ । मूल प्रश्न सही विचार र सही राजनीतिक
कार्यदिशाबाट मात्र सही नतिजा निस्कन सक्तछ । तर्सथः माओवादी
पार्टीले महान जनयुद्ध र २ बर्षको शान्ति वार्ता प्रक्रियामा
यतिखेर राजतन्त्रात्मक राज्यसत्ताको ध्वस्त गरी संघीय
गणतन्त्र नेपालको स्थापना गर्न प्रतिबद्धताका साथ लागिरहेको
कुरा नै स्पष्ट नै छ । तर यो शान्ति वार्ता प्रक्रियालाई
असफल पार्न अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद घुँडा
धसेर षड्यन्त्रमुलक ढंगबाट लागिरहेको यो स्थितिमा देश गंभीर
राष्ट्रियताको खतरामा पनि उभिएको छ । किनकी नेपाललाई इराक र
अफगानिस्तान बनाउने अमेरिकी साम्राज्यवाद र भारतीय
विस्तारवाद लागिरहेको छ । आज विभिन्न वैदेशिक राजनीतिक
शक्तिकेन्द्रहरुको केन्द्र दक्षिण एसियामा नेपाल बनेको छ ।
यो स्थितिमा राजतन्त्र र साम्राज्यवादी शक्तिहरुले अरबौं डलर
खर्च गरी केहीलाई आफ्नो दलाल बनाउन खोज्नु र आर्श्चर्य
मान्नुपर्दैन । क्रान्तिले प्रतिगामी ज्ञानेन्द्र
पारसहरुजस्तो सामन्ती दलाल राष्ट्रघाती जन्माउनै पर्दछ । यो
संघर्षको नियम हो ।
यतिखेर नेपालको राजनीतिक इतिहासमा नेकपा (माओवादी) का
अध्यक्ष क.प्रचण्डले राजावादी भित्र रहेका राष्ट्रवादी
देशभक्तहरुसँग पनि मोर्चा बनाएर जान सकिन्छ भन्ने भनाईले
हाम्रो पंक्तिभित्र र बाहृय रुपमा चर्चाको शिखरमा छ । तर्सथः
राजतन्त्रका नाइके राजाहरु नेपालको राजनीतिक इतिहासमा मुलतः
भ्रष्टाचारी शोषक सामन्त जनहत्यारा वा राष्ट्रघाती विदेशी
दलाल नयाँ जंगबहादुर राणाहरु हुन् । कुनै पनि हालतमा
ज्ञानेन्द्रहरु न त विचार, न त व्यवहारबाट होस्, राष्ट्रवादी
देशभक्त हुनैसक्तैन र होइन पनि । तर संसदीय पार्टीका
नेताहरुबाट माओवादी राजावादी भएको पुष्टि भएको भनेर जुन आरोप
लगाएका छन्, त्यो आरोपको लागि आरोप हो । त्यसमा कुनै सत्यता
छैन ।
पहिलो कुरा समाजमा धेरै अन्तरविरोधहरु हुन्छन् । ती
अन्तरविरोधहरु मध्ये प्रमुख अन्तरविरोध समस्याको पहिचान गरी
मुख्य अन्तरविरोधहरुको हल गर्न सहायक विरोधी पक्षलाई पनि साथै
लिएर मुख्य दुश्मनका विरुद्ध संघर्ष गर्नुपर्दछ । यदि त्यसो
नगर्ने हो भने मुख्यः दुश्मनलाई पराजित गर्न सकिंदैन । जस्तो
कि, माओवादी र ६ संसदीय दलहरुबीच विश्व दृष्टिकोण र राजनीतिक
राज्यसत्तालाई हेर्ने बारेमा भिन्न मत छ । तर सामन्ती
राजतन्त्रको अन्त्य गर्न १२ बुँदे सहमति भएर यो स्थितिमा आएको
छ । यो स्पष्ट छ कि, माओवादी र संसदीय दलहरुबीचको सहमतिबाट
मुख्य दुश्मन राजतन्त्रविरुद्ध एक भई संघर्ष गरेर नै यो
स्थिति आएको हो । यो भन्नैपर्दछ कि ०६३ बैशाख ११ गते नेका/एमालेले
राजतन्त्रसँग सम्झौता नगरेको भए त्यतिबेला नै राजतन्त्रको
अन्त्य भइसक्दथ्यो । यो कटु सत्य हो ।
दोस्रो कुरा, विपरित वस्तुहरुबीचको एकता, संघर्ष अनि एक
अर्कोमा रुपान्तरण मुख्य हुन्छ । तर्सथ, महान जनयुद्ध र
ऐतिहासिक जनआन्दोलनको संघर्षले हरेकलाई नयाँ ढंगले सोच्न र
आफूलाई रुपान्तरण गर्न बाध्य पारेको छ । जसले आफूलाई
रुपान्तरण गर्न सक्छन्, तिनीहरुको अस्तित्व रक्षा र विकास
हुन्छ । जसले जड, संकिर्ण र यान्त्रिकता एवं दलगत, गुटगत
मानसिकतालाई रुपान्तरण गर्न सक्दैन, त्यसको पतन अनिवार्य
हुन्छ । यो नियम राजतन्त्रका नाइके ज्ञानेन्द्रहरुमा पनि लागू
भएको छ र हुँदै छ ।
तेस्रो कुरा र मुख्य सवाल, कुनै पनि पार्टीको व्यक्ति वा
वस्तुले बदलिएको परिस्थिति अनुसार आफ्नो रणनीतिमा दृढता र
कार्यनीतिमा हदैसम्म लचकता अपनाएर जान नसक्ने, खाली कोरा
क्रान्तिकारी सिद्धान्त र विचारको मात्र सुगा रटाइले हुँदैन
। किनकि मार्क्सावाद गतिशील हुन्छ । बदलिएको परिस्थिति
अनुसार आफ्नो कार्यनीतिलाई बदल्नै पर्दछ । एउटा परिस्थिति,
एउटा सर्न्दर्भ वा कालखण्डमा भनिएको/लागू गरिएको
कार्यनीतिलाई अर्को नयाँ कालखण्ड, नयाँ परिस्थितिमा लागू
हुन्छ भन्ने जड यान्त्रिक रुपबाट लागू गर्ने प्रयत्न गरिन्छ
भने त्यो असफल हुनेछ । जस्तो, रुनु र हाँस्नु दुवै राम्रो हो
तर असाध्यै संवेदनशील घडीमा आपत विपतको समयमा कोही मानिस
हाँस्ने काम गर्यो भने त्यो बेठीक हुन्छ । अर्कोतिर खुशीयाली
पर्व, उत्सवमा रोयो भने त्यो बेठीक हुन्छ । लेनिनले राजनीतिक
कार्यनीति २४ घण्टामा अदलबदल हुन्छ भन्नुभएको छ । एउटा
परिस्थितिमा लागू गरिएको कार्यनीति अर्को परिस्थितिमा लागू
गर्न खोजियो भने त्यो घातक एवं असफल समेत हुनेछ ।
यतिखेर नेपालको राजनीतिक इतिहासमा विभिन्न वैदेशिक शक्तिहरुको
ठूलो चलखेल छ । नेपाललाई इराक बनाउने गंभीर षड्यन्त्रमा
अमेरिका छ भने भारतीय विस्तारवाद सिक्किमीकरण गर्ने गंभीर
षड्यन्त्रमा रहेको छ । यो स्थितिमा माओवादी र ६ संसदीय
दलहरुको सहमतिय राजनीतिलाई अझै १०/१५ बर्षसम्म लैजानुपर्ने
देखिन्छ भने अर्कोतर्फ ज्ञानेन्द्र पारसहरु र उसका दलालहरु
राष्ट्रवादी, देशभक्त हुनै सक्दैनन् र होइन पनि तर
राजतन्त्रात्मक राज्यसत्ताका नाइके ज्ञानेन्द्रहरुले
राष्ट्रिय ढुकुटीको दुरुपयोग गरी आफ्ना दलाल बनाएका छन् । तर
पनि राजावादीभित्र पनि सबै ज्ञानेन्द्र-पारसजस्ता दलाल
हुँदैनन् । त्यहाँ पनि देशभक्त र राष्ट्रवादी छन् । कतिपय
देशभक्तहरु पनि जानेर वा नजानेर राजावादी भएका थिए । तर
राजतन्त्रको भविष्य नेपालमा छँदैछैन । तर्सथ, ज्ञानेन्द्र
पारसहरु त विदेश जालान्
-भागेर) वा जनताले एकदिन दण्ड सजायँ दिनेनै छ । यस्तो
स्थितिमा राजावादी भित्रका राष्ट्रवादी देशभक्तलाई पनि
ज्ञानेन्द्र पारस सरहको राष्ट्रघाती जनहत्यारा भनेर बिल्ला
भिराइदियो भने अन्ततः कट्टर राजावादीहरुलाई सहयोग पुग्नेछ ।
साम्राज्यवादी, विस्तारवादीहरु र ज्ञानेन्द्र-पारसहरुलाई
सहयोग पुग्नेछ । त्यो राजावादी भित्रका देशभक्त
राष्ट्रवादीहरुलाई समेट्न सकियो भने जनताको शक्ति बढ्नेछ ।
विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा पनि कमरेड माओले
चिनमा जापानीज साम्राज्यवादको आक्रमणको विरुद्ध च्याङ-कार्य
शेकसँग कार्यगत एकता गरी जापानीज साम्राज्यवादलाई पराजित
गर्नुभयो भने नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न छुङ्कीन
वार्ता गर्नुभयो र आफ्नो जनमुक्ति सेनालाई कटौती मात्र
गर्नुभएन केही आधार इलाकाहरुलाई समेत भंग गर्न तयार हुनुभएको
पाइन्छ । लेनिनले समाजवादी क्रान्ति सम्पन्न गर्नको लागि धेरै
लचकता अपनाउनु भयो भने स्टालिनले जर्मन साम्राज्यवादबाट आफ्नो
राष्ट्रियता, समाजवादी राज्यसत्ता जोगाउनका लागि बेलायत र
अमेरिकी साम्राज्यवादसँग कार्यगत एकता गर्नुभएको इतिहास छ ।
'एकको दुइमा विभाजन' को सिद्धान्त/नियमानुसार हरेक पार्टी
व्यक्तिमा पनि यो नियम लागू हुन्छ । तर्सथ असल र खराब दुबै
प्रकृति विचार हरेक व्यक्ति/पार्टीमा हुन्छ । तर्सथ
राजतन्त्रभित्र पनि कट्टर राजावादीहरु जो विदेशी दलालहरु छन्
त्यसमा ज्ञानेन्द्र-पारस, कोमल थापाहरु कुनै पनि हालतमा
राष्ट्रवादी देशभक्त हुन सक्दैनन् । तर त्यो राजावादीभित्र
देशभक्तहरु छन् । जस्तो, भिमसेन थापा, अमरसिंह थापाहरु जस्ता
देशभक्तहरुलाई विदेशी दलाल र कट्टर राजावादीहरुले हत्या गरेका
पाइन्छ । राजावादीभित्र पनि देशभक्त राजावादीहरुलाई समेटेर
वैदेशिक हस्तक्षेपको विरुद्ध संघर्ष गर्न एवं राजतन्त्रलाई
ध्वस्त गरी नयाँ नेपालको निर्माणको लागि समेटेर लैजाने कुरा
गर्दा माओवादी र राजावादी मिल्ने भनेर जुन आरोपहरु लगाइएका
छन्, त्यो आदर्शवादी विचार-चिन्तनको उपज बाहेक अरु केही हुनै
सक्दैन ।
माओवादीको नेतृत्वमा महान जनयुद्ध नभएको भए नेका, एमालेका
नेताहरु अहिले पनि जेलमा हुने थिए । ज्ञानेन्दले तानाशाही
शासन चलाइरहन्थ्यो । तर महान जनयुद्धमा १० औं हजारको बलिदान,
हजारौंको बेपत्ता, राजतन्त्रको अन्त्यको लागि लाग्ने माओवादी
पार्टीलाई राजावादी भनेर कसले विश्वास गर्छ - नेका/एमालेहरु
जसले राजतन्त्र जोगाउन लम्पसार पर्नेहरु, ज्ञानेन्द्रजस्तो
राजालाई दाम राखेर ढोग्नेहरु अझै माओवादीलाई राजावादी भन्ने
? यो कस्तो आरोप हो ? यो आरोपको लागि आरोप मात्र हो । यस्ता
आरोप लगाउनेहरुले माओवादीको आधिकारिक दस्तावेज राम्ररी
अध्ययन गर्दा राम्रो हुन्थ्यो कि ? कार्यनीतिक हिसाबले मुख्य
दुश्मनलाई परास्त गर्न सहायक विपक्षीहरुसँग एकता गरेर गए पछि
मात्र मुख्य दुश्मनलाई परास्त गर्न सकिन्छ । होइन भने
सिद्धान्त मात्र जपेर क्रान्ति सम्पन्न हुनै सक्दैन । भिक्षु
भइन्जेल घण्टा बजाइरहने भनेझैं हुनेछ । किनकी, क्रान्ति
नगर्ने मोहनविक्रमहरुलाई सिद्धान्त मात्र जपेर बसे पुग्दछ ।
मुख्य सवाल वर्तमान राजनीतिक घटनाक्रमलाई हेर्दा नेपालकै
इतिहासमा वैदेशिक शक्तिकेन्द्रहरुको ठूलो चलखेल भइरहेको यो
स्थितिमा सामान्यरुपले राजनीति बुझियो भने देशलाई गंभीर
खतराबाट मुक्त गर्न गार्हो छ । किनकी जनताको एकताबिना त्यो
साम्राज्यवादी शक्तिलाई परास्त गर्न कठिन छ । तर्सथ शान्ति
वार्ता प्रक्रियालाई सफल पार्न वैदेशिक हस्तक्षेपबाट देशलाई
बचाउन राजतन्त्रालाई अन्त्य गरी संघीय गणतन्त्रात्मक नेपाल
स्थापना गर्न समानुपातिक निर्वाचन प्रणाली लागू गरी नयाँ
नेपालको निर्माण गर्न सम्पूर्ण देशभक्त राष्ट्रवादीहरु एक
जुट भएर जानुपर्दछ । तबमात्र नयाँ नेपाल निर्माणको ढोका
खुल्नेछ ।
अन्तमा, साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनझैं
गरियो भने वर्तमान राजनीतिक संकटलाई सफलतामा पुर्याउन
सकिंदैन । नेकपा माओवादी कुनै पनि हालतमा राजतन्त्रको अन्त्य
गर्न वैदेशिक हस्तक्षेपको विरुद्धमा लड्ने छ र अन्तरिम
व्यवस्थापिकाबाट संघीय गणतन्त्र घोषणा गर्न समानुपातिक
निर्वाचन प्रणालीलाई लागू गरी संविधानसभाको निर्वाचन मार्फत
नयाँ नेपाल निर्माण गर्न प्रतिबद्ध छौं । बरु, सबै देशभक्त,
राष्ट्रवादी र क्रान्तिकारीहरुले अहिलेको स्थितिमा पूरानो
गुटगत, दलगत स्वार्थ र संकिर्णतावादी जड र पूर्वाग्रही
चिन्तन र कार्यशैली बदलौं र वर्तमान नयाँ परिस्थितिमा आफ्नो
दिमाग विचारलाई स्वतन्त्रपूर्वक नयाँ ढंगबाट सोचौं र मुख्यतः
रुपान्तरण गरी लागौं । यो नै अहिलेको आवश्यकता हो । यसरी
मात्र नयाँ नेपाल संभव छ ।
२०६४ मंसीर २१ गते
(लेखक नेकपा माओवादी धादिङका इञ्चार्ज हुनुहन्छ)