गद्दारहरूलाई त्यसै छाड्नु हुन्न
नेकपा (माओवादी) र संसदीय छ दलले आगामी चैत २८ गते सम्पन्न
हुने संविधानसभा निर्वाचनको वातावरण तयार गर्न पुस ३० गतेदेखि
काठमाडौंबाट संयुक्त आमसभाको अभियान शुरु गरेका छन् । र, माघ
१६ गतेसम्म देशका विभिन्न अन्य छ ठाउँमा यस्तो अभियान जारी
रहने छ । सात दलको संयुक्त अभियानले संविधानसभा निर्वाचन हुन
नसकेबाट निराश आमूल परिवर्तनकारी नेपाली जनतालाई उत्साहित
मात्र तुल्याएको छैन, नयाँ जोश, नयाँ उत्साह र नयाँ विश्वास
समेत सिर्जना हुन पुगेको छ ।
सात दलका शीर्ष नेताहरूले पुस ३० गते राजधानीमा ऐतिहासिक
संयुक्त जनसभामार्फत् जुनसुकै मूल्यमा संविधानसभा निर्वाचन
सफल पार्ने सार्वजनिक संकल्प समेत गरेका छन् । यसले विगतमा
दुइ पटकसम्म मिति निर्धारण गरिए पनि निर्वाचन हुन नसकेको
इतिहास पुनरावृत्ति नहुने देखिएको छ । त्यति मात्र होइन
सत्तारुढ दलहरू संविधानसभाको निर्वाचनमार्फत संघीय
लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न प्रतिबद्ध छन् भन्ने
कुराको पनि सन्देश प्रवाह भएको छ । र, सातदलीय एकता नचाहने,
संविधानसभा नचाहने, राष्ट्र विखण्डन चाहने तत्वहरूको हार भएको
छ । जनताको विजयी अभियान जारी छ ।
निश्चितै रूपमा संविधानसभाको निर्वाचन सम्पन्न गर्न त्यति
सहज छैन । जनताको विजय र सात दलीय एकता नचाहने दरबारिया
प्रतिगामी तत्वहरू विक्षिप्त भएका छन् । यी तत्वहरूले नयाँ
रूप र समूह खडा गर्दै आफ्नो आयु लम्बाउने धृष्टता र
पागल-प्रलाप गरिरहेका छन् । र, झन् गर्नेछन् । काठमाडौंको
जनसभा सकिएपछि गराइएको विष्फोटनले जनअपराधीहरूको षड्यन्त्र
छरपष्ट भएको छ । र, त्यस संगसंगै सात दलबीच २३ बुँदे सहमतियता
बेखुसी बनेका विस्तारवादी तथा साम्राज्यवादी तत्वहरूलाई पनि
संयुक्त अभियान पचेको छैन । यी तत्वहरूबाट संविधानसभा खतरामा
छ भन्ने कुरा भुलेर त्यसप्रति ध्यान दिन सकिएन भने मुलुकले
नयाँ युगको ढोका खोल्न सक्ने छैन । प्रतिक्रियावादीहरू
राष्ट्र टुक्य्राउन चाहन्छन्, देशमा विखण्डन, अराजकता र हत्या,
हिंसा मच्चाउन चाहन्छन् । यो कुरालाई भुलेर संविधानसभा
निर्वाचन सम्पन्न हुनसक्ने छैन ।
तर नेकपा (माओवादी) को दूरदृष्टि र अथक संघर्षले संविधानसभा
भएरै छाड्ने छ । नेपालको इतिहासमा संविधानसभालाई साझा
एजेण्डाका रूपमा स्थापित गर्ने शक्ति नेकपा (माओवादी) का
अध्यक्ष प्रचण्डले जसले संविधानसभाप्रति गद्दारी गर्छन्,
तिनीहरूलाई खरानी पारेर त्यही खरानीमाथि पनि संविधानसभा हुने
बताइसक्नुभएको छ । र, उहाँले संविधानसभाको चुनाव भाँड्न कसैले
टाङ अड्काए त्यसको टाङ भाँचेरै चुनाव गराइछाडिने बताएबाट पनि
अब जनताको विजयलाई दुनियाको कुनै पनि शक्तिले रोक्न नसक्ने
स्पष्ट हुन्छ ।
ठीक यति नै बेला सात दलको नयाँ अभियानले सात दलभित्रकै पनि
एकता नचाहने, संविधानसभा नचाहने, राष्ट्रियता र गणतन्त्र
विरोधी तत्वहरू अत्तालिएका छन् । तिनीहरू कसैले आफ्ना दलको
नेतृत्वलाई सराप्न थालेका छन्, कोही विक्षिप्त भएर जथाभावी
बर्बराउँदै हिड्न थालेका छन् । जनताका अपराधीको बोलीमा लोली
मिलाउँदै हिड्ने, प्रधानमन्त्री पुत्री बिनाविभागीय मन्त्री
सुजाता कोइरालासम्मका षड्यन्त्रकारीहरू पागलप्रलाप गर्न
थालेका छन् । जनआन्दोलनले दोषी ठहर्याएका प्रधानसेनापति
रुक्मांगद कटवालदेखि प्रधानमन्त्री हुँदै उनकी पुत्री
सुजातासम्मले बेमौसमको बाँसुरी बजाएर के गर्न चाहेका हुन -
स्पष्ट छ-'यी तत्वहरू अझै पनि राजतन्त्र जोगाउन चाहन्छन् ।'
हामी सात दललाई आग्रह गर्दछौं- जनअपराधी कटवाल र सुजाताजस्ता
व्यक्तिहरूलाई तुरुन्त कारबाही गरिनुपर्छ । र, तिनलाई जनताको
सरकार र त्यसको अंग सेना प्रमुख भएर बस्ने कुनै नैतिक अधिकार
छैन । त्यसबाट यी दुवैलाई बर्खास्त गर्दै जनताका छोराछोरीले
त्यो हैसियत सम्हाल्नु पर्छ । र, प्रधानमन्त्रीले कुन आधारमा
प्रधानसेनापतिको बोलीमा लोली मिलाएका हुन्, त्यो पनि जनताका
बीचमा स्पष्ट राखिनुपर्छ । १२ बुँदे समझदारी, अन्तरिम
संविधान हुँदै २३ बुँदे सहमतिसम्म सेना समायोजनका बारेमा जे
समझदारी बनेको छ, त्यही आधारमा सेना समायोजनको प्रश्न हल
गर्नुपर्छ । यो युगको आवश्यकता पनि हो । अब संविधासभा भाँड्न
खोज्ने, राष्ट्रिय अखण्डता र गणतन्त्र तुहाउन खोज्ने
गद्दारहरूलाई त्यसै छाड्नु हुन्न । महान् राष्ट्र निर्माणको
अभियानमा जनता हरघडी जुनसुकै मूल्य चुकाउन तयार छन् । जागेका
नेपाली जनतालाई अब कसैले रोक्न सक्ने छैन । जनताको विजय
अवश्यंभावी छ ।