ARTICLE BY BASHUDEV MISRA

HOME ABOUT US editor@ourpath.net
 

डा. ब्रायन कवलाई लण्डनबाट पत्र

- वासुदेव मिश्र

१७ अप्रिल २००६

डा. ब्रायन कव, एक अमेरिकी नागरिक, चिकित्साशास्त्रका प्राध्यापक वंगलादेशमा अध्यापनरत, यही नै उहाँको परिचय रहेछ । उहाँ हालै नेपालमा रहनु हुँदा त्यहाँ चलिरहेको आन्दोलनलाई नजिकैबाट देख्ने र भोग्ने अवसर पाउनु भएछ । आफ्नो पेशागत धर्म अनुसार आन्दोलनमा घाइते भएका आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षको उपचार गरिदिंदा त्यहाँको दमनकारी शाही सत्ताले पक्राउ गरी निर्मम यातना दिएको र वेपत्ता पार्ने प्रयास समेत गरेको तथ्य अघिल्लो साताको कान्तिपुरमा प्रकाशित समाचारबाट हामी परदेशीएका नेपालीहरुलाई थाहा हुन आयो । वेपत्ता पार्ने प्रयास तपाईका नेपाली सहधर्मी चिकित्सक मित्रहरुको प्रयत्नले असफल भएपछि अपमानपूर्वक तपाईलाई देश निकाला गरिएछ भन्ने समेत ज्ञात भयो । सत्तामा रहेका दुष्टात्माहरुबाट तपाई माथि गरिएको यस घोर अपमानजनक र निच व्यवहारबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेंसको अन्य स्वतन्त्रता प्रेमी जनताहरुले गहिरोसंग अनुभुत गर्न सक्छन् । यस दुव्र्यवहारको लागि म एक नेपालीको नाताले तपाई सामु नतमस्तक हुँदैछु ।

हिजो १६ अप्रिल आइतबारको कान्तिपुरको पाठक प्रतिक्रिया स्तम्भमा यहाँको अर्को विचार पढ्ने मौका पाइयो । उक्त स्तम्भमा आफ्नो प्रतिक्रिया दिंदै राजाको शासन दिनदिनै एक्लिदै र दमनकारी हुँदै गईरहेको, आन्दोलन गणतन्त्रतर्फ तेजगतीले बढिरहेको, आन्दोलनमा दिनपरदिन जनसहभागिता बढ्दै गएको र यस्तो अवस्थामा आन्दोलनलाई सफलताको टुङ्गोमा पुर्‍याउन देश विदेशबाट नेतृत्ववर्गलाई व्यापक दबाब सृजना गर्नु पर्ने सत्यतालाई उजागर गर्दै आफूहरुले पनि हरतरहले सहयोग गर्ने प्रण गर्नु भएको रहेछ । गणतन्त्र नेपाललाई सहयोग गर्न आफू पुनः नेपाल आउने र माओवादीहरुलाई फकाएर मुलधारमा प्रवेश गराउन सकिने विचार समेत उक्त प्रतिक्रियामा उल्लेख रहेछ । तपाईको नेपाल र नेपाली जनताप्रतिको सहयोगी भावनाको उच्च कदर गर्दै म यहींनेरै डाक्टर साहेबलाई के अनुरोध गर्न चाहन्छु भने फकाउनु पर्ने माओवादीलाई होइन यहाँकै देशका सत्ताधारी "नयाँ अनुदारवादी" शासकवर्ग र उनीहरुका नैपालस्थित दुत मोरियार्टी महोदयलाई हो जस्तो लाग्छ । किनभने यसपालीको आन्दोलन माओवादी र संसदवादी पार्टीहरुको सहमती र समझदारी अन्तरगत भएकोले नै यसले यति ठूलो उचाई हासिल गरेको छर्लङ्ग छ । माओवादीका सवै जनवर्गीय संगठनहरु घोषित रुपमै आन्दोलनमा संलग्न छन् र आफ्नो पकडमा रहेका ग्रामिणक्षेत्रहरुबाट बढिसे बढी जनताहरुलाई आन्दोलीत हुन प्रेरित गरिरहेका छन् । यसको प्रमाण स्वरुप आजै -सोमबार १७ अप्रिल) को समाचारपत्रमा हेटौडाका एक वृद्धको भनाईलाई लिन सकिन्छ । त्यसमाथी कमल थापाहरु आन्दोलनमा "नयाँ अनुहार" देखिएको भनिरहेका छन् । सातदलहरुको बलबुतामा मात्र यस आन्दोलनले यत्रो उचाई लिन सक्ने कल्पनै गर्न कमसेकम उनीहरुको विगतको क्रियाकलाप हेर्दा पनि सकिदैन ।

 

यसरी आफ्नो प्रत्यक्ष संलग्नतामा भएको आन्दोलन सफल भएमा के माओवादीहरुले गडवडी गर्लान त - जहाँसम्म उनीहरु संग रहेको हतियार समायोजनको कुरा छ, उनीहरुका नेताहरुबाट दिइएको श्रृंखलावद्ध अन्तरवार्ता र लेखिएका लेखहरुमा जनाइएका प्रतिवद्धता (जुन पार्टी निर्णय अनुसार नै वाहिर आएको मान्नु पर्दछ) हरुबाट के निश्कर्ष निकाल्नु मनासिव ठहरिन्छ भने सामन्तवादको जरो किलो उखेले पछि देशको विकास निर्माणमा उनीहरु तगारो हुने छैनन् बरु सक्रिय सहभागिताको अपेक्षा गर्दछन् । बहुलबादलाई उनीहरु पनि नकार्दैनन्, बल्की जनताको अभिमतलाई सर्वोपरी ठान्दछन् । ५० र ६० को दशकको जस्तो परम्परागत माक्र्सवाद २१ औं शताब्दी, जहाँ विश्व परिस्थिति उनीहरु अनुकूल छैन र सञ्चारजगतको अभुतपूर्व विकाशले गर्दा संसार अत्यन्त साँघुरिएको छ, मा हाम्रो जस्तो अत्यन्त सानो भौगोलिक परिधी भित्र लागु गर्न असंभव छ भन्ने तथ्य संग उनीहरु पनि अनभिज्ञ छैनन् । माक्र्सवाद एक प्रगतिशील विचारधारा हो जसलाई ठोस परिस्थितिको ठोस विश्लेषण भनेर परिभाषित गरिएको छ र यसमा जडतालाई ठाडै नकारिएको छ । एउटा माक्र्सवादी पार्टीको हैसियतले उनीहरु त्यही जडतामा जकडिएर वसिरहने छैनन भन्ने अनुमान लगाउन सकिन्छ । बसिरहे भने यो उनीहरुकै सर्वनाशको कारण बन्ने छ । किनकी कुनैपनि चिजको विकाश र विनाशमा वाहृयतत्व भन्दा त्यहिं भित्रको अन्तरवस्तुले ठूलो भुमिका निभाएको हुन्छ । यस्तो सामान्य कुराको ज्ञान म जस्तो अद्नालाई थाहा छ भने दशौं वर्ष देखि मृत्यूसंग पोठेजोरी खेल्न लाखौं जनतालाई सिकाउने ती संघर्षशील नेताहरुलाई छैन भनी म कसरी सोचुँ ?

 

डाक्टर साहेब, अर्कोतर्फ तपाईको देशको सत्ताधारी वर्ग जहिले र जहाँपनि जनताको मुक्ति र स्वतन्त्रताको चाहनालाई कुल्चेरै घोर प्रतिक्रियावादी शासकहरुलाई काँध थाप्छ । दोस्रो विश्व युद्ध पछि हिन्दचीनी (हालको भियतनाम, लाओस र कम्वोडिया) जनताको मुक्ति संघर्षलाई दमनका खातिर प|mान्सिसी साम्राज्यवादलाई प्रतिस्थापन गर्न तपाईको देश आईपुग्यो । कोरियन प्रायद्धिपमा सिंगमन हि र पार्क चुङ्ग हि जस्ता तानाशाहहरुलाई अमेरिकाले धाप दिएर पालिदिंदा आजका दिन सम्म कोरिया विभाजित भएर बस्नु परेको छ । इरानको निरङ्कुश रेजा पल्लवी शासनलाई टिकाउन गरेको प्रयासले गर्दा ४४४ दिनसम्म तपाईको देशका तेहरान स्थित प्रतिनिधि इरानी जनताहरुको वन्धक भएर वस्नु परेको थियो । इरान - इराक युद्धमा सद्दामलाई साथ दिंदाको परिणाम के भयो ? अफगानिस्तानमा सोभियतहरुको विरोधको नाममा कटृरपन्थिहरुलाई सवै प्रकारको सहयोग गरिएको होइन ? आज तिनै देशहरुमा पेण्टागनको पेटारोबाट प्रजातन्त्रको प्रमाणपत्र जारी गर्नु पर्ने भयो कि भएन ? ल्याटिन अमेरिकी जनताको मुक्ति आकांक्षा माथि चिसो पानी खन्याउने को हो ? ल्याटिन अमेरिकी जनताका सर्वप्रिय क्रान्तिनायक चे ग्वेभारा, चिलीका सर्वाधिक जनप्रिय राष्ट्रपति सल्वाडोर एलेण्डे, प्रजातान्त्रिक जनगणतन्त्र कंगोका लोकप्रिय प्रधानमन्त्री पेटि्रक लुमुम्वा, घानाका प्रगतिशिल राष्ट्रपति क्वामे एन्क्रुमा आदि कतिपय राजनेताहरुलाई मृत्युको मुखमा हालिएको होइन र ? यी सवै कुकृत्यहरु अरु कसेको नभई अमेरिकी शासकहरुको निर्देशनमा सि.आई.ए.ले गराएको थियो । सयौं पटकको हत्याको प्रयास वावजुद क्युवाका फिडेल क्याष्ट्रो अझै ज्यूँदै छन् भने यदाकदा सुने अनुसार वेलायती साम्राज्यवादको भारतीय उपमहाद्धिपबाट बहिर्गमन पश्चात अमेरिकीहरुले त्यो ठाउँ लिन खोजेका थिए रे । माथि उल्लेख गरिएका तथ्यहरु त अमेरिकी शासकहरुका घृणित खेलका सतहमा देखिएका परिणाम मात्र हुन । भित्र भित्रै षडयन्त्र अरु कति भए होलान ? संसारभरीका तानाशाहरुपी गोमन सर्पहरुलाई दुध पिलाएर राख्ने र जनतालाई डस्न लगाईरहने तपाईको सरकारको नित्य कर्म जस्तै देखिन्छ ।

 

नेपालकै सन्दर्भमा भन्ने हो भने तपाईका देशका काठमाण्डौ स्थित प्रतिनिधि श्रीमान मोरियार्टीको वेला न कुबेलाको टिप्पणीले नेपाली राजनीतिमा तरंग ल्याईरहन्छ । कहिले उनी सातदल - माओवादी समझदारीको सतर्कतापूर्वक समर्थन गर्छन त कहिले सोही समझदारीलाई अनर्थपूर्ण र त्रासदीपूर्ण भनेर भ्रम पैदा गर्राई दिन्छन् । कहिले राजालाई अधिकार त्याग्न सल्लाह दिन्छन भने कहिले राजा र सातदल मिलेर माओवादी सिध्याउनु पर्ने तर्क अघि सार्दछन् । वास्तवमा भन्ने हो भने मोरियार्टी महोदयकै कारणले जनआन्दोलन गर्न ढिला हुन गएको हो । इराक र अफगानिस्तानमा अमेरिकी सेनाले वासिङ्गटन देखि प्रजातन्त्र बोकेर ल्याउनु परेकोमा नेपालमा चाँहि त्यहिंका जनताले आफै प्रजातन्त्र उमार्छौ भन्दा समेत तपाईका देशका प्रतिनिधीले भाँजो हाल्न खोजेर जनताको नजरबाट आफैलाई अवमूल्यन गरे । अतः के अनुमान लगाउन सकिन्छ भने आन्दोलनको सफलता पश्चात पूर्वाग्रहवस माओवादीहरुलाई किनारा लगाउने दुश्चेष्टा गरियो भने समस्याको निदान कहिल्यै हुने छैन ।

 

म आफूलाई चाहिँ के कुरामा खुसी लागेको छ भने कमसेकम एकजना अमेरिकी वासिन्दा, त्यो पनि विद्धान व्यक्तिले गणतन्त्रको खुला समर्थन गरेको छ । अन्यथा अमेरिकी सरकारको संसारभरका मुक्तिकामी जनता विरोधी रवैयाले अमेरिकी जनताहरु प्रति बाँकी दुनियाँ शंकालु नजरले हेर्ने गर्छन । जहाँसुकै भएपनि एकजना अमेरिकी अन्य विदेशीको तुलनामा पहिलो तारो हुने पनि अमेरिकी सरकारी नीतिको कारणले नै हो । अब बाँकी दुनियाँको अमेरिकी जनतालाई हेर्ने दृष्टिकोण बदल्न डाक्टर साहेबहरु लागि पर्नु पर्छ । चिनीयाँ जनताको मुक्ति युद्धमा सघाए वापत भारतीय चिकित्सक डा. कोट्निसलाई चिनीयाँहरु अफै पनि आदर पूर्वक स्मरण गर्दछन् । कुऔमिन्ताङ्ग पार्टीलाई सोभियत ढाँचामा संगठित गरिएकोमा माइकल बोरोडिन, बैचारिक उर्जा प्रदान गरेकोमा प्रो. एन. राय र अध्यक्ष माओको छवी पश्चिमी संसारमा उज्यालो पारिदिएकोमा एडगर एलेन स्नोलाई स्मरण गरे जस्तै । हुन त मैले डाक्टर साहेबलाई माओवादीलाई सहयोग गर्न भनेकै होइन । तर कमसेकम एक गणतन्त्रप्रेमीको हैसियतले गणतान्त्रिक आन्दोलनमा मनग्य सहयोग गर्न सकिन्छ, १९३६ - ३९ को जनरल फ्राङ्को विरोधी स्पेनिश गृहयुद्धमा तपाईकै देशका नोवल पुरस्कार विजेता महान साहित्यकार अनष्ट हेमिङ्गवेले जस्तै । यदि यसो हुन सक्यो भने डा. ब्रायन, गणतन्त्र नेपालको इतिहासको पानामा तपाईको नाम सुनौला अक्षरले लेखिनेछ, जसरी डा. कोट्निसको नाम चिनीयाँ इतिहासमा लेखिएको छ ।

 

अन्तमा शाही सत्ताले गरेको तपाई माथीको दुव्र्यवहारको लागि खेद प्रकट गर्दै नमस्कार सहित विदा हुन्छु ।

 

 

All Rights Reserved with http://www.ourpath.net